
। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याइरहेका बेला काठमाडौंको पाँचतारे होटलमा भएको रात्रिभोजको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ।
भारतीय राष्ट्रिय कांग्रेसका सांसद तथा पूर्वकूटनीतिज्ञ शशि थरूरले सार्वजनिक गरेको तस्वीरमा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहितका व्यक्ति र भारतीय पाहुनाहरू रात्रिभोजमा सहभागी देखिन्छन्। थरूरले समेत वाग्लेसँग रात्रिभोजमा सहभागी भएको उल्लेख गरेका छन्।

उक्त जमघट NDTV World को ‘Anviksha: Ideas Across Borders – India-Nepal Dialogue’ कार्यक्रमसँग सम्बन्धित थियो। कार्यक्रममा नेपाल–भारत सम्बन्ध, राजनीति, अर्थतन्त्रलगायत विषयमा छलफल भएको थियो।
पाहुनालाई स्वागत–सत्कार गर्नु कूटनीतिक तथा औपचारिक कार्यक्रमको स्वाभाविक पक्ष भए पनि देश गम्भीर विपद्मा परेका बेला सार्वजनिक भएको हसिलो मुद्राको तस्वीरले भने संवेदनशीलताको प्रश्न उठाएको छ। बाढीमा सयौँको ज्यान गएको र ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेका बेला यस्तो तस्वीर सार्वजनिक हुनु आफैंमा बहसको विषय बनेको हो।
